Saturday, August 2, 2014

मोदी भ्रमणको तयारी पूरा, राजकीय भ्रमणको सुरक्षा बन्दोवस्त कडा कुनैपनि देशको सरकार या राष्ट्रप्रमुखको भ्रमणका क्रममा दुई देशका झण्डालाई सार्वजनिक स्थलहरुमा राख्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा काठमाडौं सिंगारिएको छ । यतिबेला भ्रमणको सिलसिलामा काठमाडौँका विभिन्न सडकका दायाँबायाँ रहेका फ्लयाग पोस्ट (झण्डा राख्ने पोल) मा नेपाल र भारतको राष्ट्रिय झन्डा फहराइएका छन् । गृह मन्त्रालयअन्तर्गत समर्जङ कम्पनी कार्यालयबाट स्वदेशी वा विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा जाँदा उहाँहरूको सम्मानमा सडकका दायाँ बायाँ रहेका फ्लयाग पोष्टहरूमा सम्बन्धित देशको राष्ट्रिय झन्डा राख्ने चलन रहँदै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, पद्मोदयमोड पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, नयाँ सडक, महाँकाल, वीर अस्पताल अगाडि, भोटाहिटी, तीनधारा, बागबजार चोक, रत्नपार्क, केशरमहल, लैनचौर, राजदरबारको दक्षिण गेट, थापाथली, त्रिपुरेश्वरलगायतका सडकका दायाँबाँया रहेका फ्लयाग पोस्टहरूमा झण्डा राखिने गरिन्छ । यसपटक भारतीय प्रधानमन्त्रीको दुईदिने भ्रमणका क्रममा पनि नेपाल र भारतको राष्ट्रिय झन्डा फहराइएको समर्जङ कम्पनी कार्यालयका प्रमुख प्रकाश पन्तले जानकारी दिनुभयो । यसैगरी कालीमाटी र सोल्टीमोडमा सडक फराकिलो गर्दा हटाइएका पोलहरू पुनः नराखिएका कारण ती स्थानमा झन्डा राख्न नसकिएको कार्यालयबाट झन्डा सजाउन खटिएका कमाण्डर माधव त्रिपाठीले जानकारी दिनुभयो । विसं. १८६१ भन्दा पहिलेदेखि सुरु भएको उक्त प्रचलन हालसम्म कायम रहेको उल्लेख गर्दै कार्यालयका प्रमुख पन्तले झन्डा राख्ने सिमेन्टका पोलहरू जीर्ण भएकाले करिब ३० वटा पोलमा यसपटक झन्डा राख्न नसकेको बताउनुभयो । मन्त्रालयको निर्देशनमा राष्ट्रप्रमुख वा सरकार प्रमुखको सवारी रुटका आधारमा मात्र झन्डा राख्ने गरिएकामा यसपटक पोल भएको ठाउँका फ्लयाग पोष्टमा झन्डा राखिएको कार्यालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुसार यही साउन १८ र १९ गते हुने मित्रराष्ट्र भारतका प्रधानमन्त्रीको राजकीय भ्रमणका क्रममा करिब ५२४ वटा पोलमा २६२ नेपाली र २६२ भारतीय राष्ट्रिय झन्डा राखिएको छ । ती झन्डाहरू भ्रमणको अघिल्लो दिन राख्ने र भ्रमण सकिएको भोलिपल्ट निकाल्ने गरिन्छ । भद्रकाली, भृकुटीमण्डप, रत्नपार्क, बागबजार र तीनधारामा रहेको प्रत्येक पोलमा नेपाल र भारतको संयुक्तरुपमा झन्डा राखिएको र अन्य स्थानमा रहेको पोलमा नेपाल र भारतको झन्डा क्रमैसँग एउटा एउटा राखिएको छ । यसैबीच, सरकारी तवरमा सबै सुरक्षा निकायको समन्वयमा एकीकृत सुरक्षा योजना अन्तर्गत मोदीको सुरक्षा गरिने भएको छ । स्थल, हवाई दुबै क्षेत्रमा सुरक्षाको भरपर्दो योजना बनाइएको छ । मोदी आउनु अघिल्लो दिन देखि मोदी स्वदेश फर्कने समयसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुरक्षा लागू गरिएको छ । यसका लागि नेपाल र भारतका सुरक्षाकर्मीले समन्वय गरिरहेका छन्

No comments:

Post a Comment