Tuesday, August 5, 2014
जीतबहादुरलाई हेर्न गाउँमा लाग्यो भीड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नेपाल आएका जीतबहादुर सारु मगरलाई हेर्न स्थानीयको भीड लागेको छ । नवलपरासीको कावासोतीस्थित लोकाहामा दाजु दशरथको घरमा आएका उनलाई हेर्नेको भीड लागेको हो । आइतबार नेपाल आएका जीतबहादुरलाई प्रधानमन्त्री मोदीले परिवारको जिम्मा लगाएपछि उनीहरू आइतबार नै परिवारका साथ घर आएका थिए । होटल हायातबाट निस्केदेखि नेपाली मिडियाको भेटघाटले घर आउँदा रातिको १० बजेको थियो दाजु दशरथले भन्नुभयो– “काठमाडाँैमा केहीबीचमा र नारायणघाटमा रोकियो घर आउँदा वरिपरिकाले पर्खेर बस्नुभएको थियो ।” रोकिनुको कारण थियो मिडियामा जीतबहादुरको अन्तर्वार्ता । राति घर आएका उनलाई हेर्न सोमबार बिहानैदेखि गाउँमा मानिसहरू आउन थालेका थिए । गैँडाकोट, प्रगतिनगर, मुकुन्दपुर, चोरमारा, कावासोती, गिरुबारीलगायका ठाउँबाट उनलाई हेर्न आउनेको सङ्ख्या उल्लेखनीय रहेको दाजु दशरथले बताउनुभयो । लोकाहामा रहेको घर आउने मान्छेको भीडका कारण आँगनमा टेन्ट टाँगेर कुर्ची राखिएको छ भने जीतबहादुर आफूलाई हेर्न आउनेसँग कुरा सुन्ने र टाउको हल्लाएर हाँस्ने गर्नुहुन्छ । धेरैजसो नेपालीमा सोधिएको कुराहरूको उहाँ हिन्दीमा जवाफ फर्काउने गर्नुहुन्छ । सानैबाट भारतमा बस्नुभएका सारुको नेपाली भाषामा भन्दा हिन्दीमा बढी दख्खल छ । धेरै जनाले टिभी, रेडियो र पत्रिकामा जीतबहादुर घर आएको खबर पाएकाले हेर्न आएको बताएका छन् । घर भित्र्याइएको नयाँ ‘दुलही’ लाई मुख हेर्न लाग्ने भीडजस्तै जीतबहादुरलाई हेर्नेहरूको भीड लागेको कावासोतीका गणेश विकले भन्नुभयो । कम बोल्ने जीतबहादुरको हसिलो अनुहारले धेरैलाई मक्ख बनाएको छ । घरमा आएकालाई चिया र पानी खुवाउने काममा व्यस्त छन् दाजु दशरथ । हँसिलो अनुहारमा देखिएका दाजु घरमा आएकासँग प्रफुल्ल भएर कुरा गर्नुहुन्छ । दाजु प्रायः भाइ जीतबहादुरसँगै बस्छन् । जीतबहादुर भने दाजुका छोरा र छोरीसँगको गफमा रमाउँछन् । गाउँका मान्छे धेरैपछि देखेकोमा उनलाई सुम्सुम्याउँछन् । दिल्लीमा छ भन्ने सुनेका थियौँ आज यसरी देख्न पाएकोमा खुसी लाग्यो गिरुबारीबाट भेट्न आएकी गोपी सुनारले भन्नुभयो । पहाड (नरम–३ नगरडाँडा)मा सँगै घर भएको भन्दै उहाँले जीतबहादुरलाई सानो छँदाको कुरा स्मरण गराउनुभएको थियो । जीतबहादुरसँग फोटो खिच्नेहरूको पनि उत्तिकै भीड छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment